जीवनशैली

नुवाकोटका मूर्तिकार देवेन्द्रप्रसाद पाण्डे

अग्लो कद, पातलो शरीर र लामो कपाल । ३३ वर्षीय मूर्तिकार देवेन्द्रप्रसाद पाण्डेको हुलिया हो, यो । नुवाकोटमा जन्मेका उनी सानैदेखि चित्र कोर्थे । उमेरसँगै उनमा कलाप्रतिको जिज्ञासा पनि बढ्दै गयो । व्यवस्थापन विषय पढ्न छाडेर मूर्तिकला अध्ययनमा लागेका उनको संघर्षकथा कम रोचक छैन ।

कक्षा–२ पढ्दा पहिलोपटक मान्छेको जीवनचक्रको चित्र कोरेका थिए । त्यसपछि कालो माटोबाट चरा र देवी–देवताका मूर्ति बनाउन थाले । गाउँकी एक महिलाले रातो माटोमा ताराहरू राखेर मूर्ति बनाई रङरोगन गर्थिन् । पाण्डेले ती महिलाको कामलाई प्रेरणाको स्रोत माने । नुवाकोट देवीघाटमा अमर चित्रकारले बनाएको पृथ्वीनारायण शाहको मूर्ति थियो । साथीसँग मिलेर उनी त्यो मूर्ति हेर्न जान्थे । र, मनमनै त्यस्तै मूर्ति बनाउने कल्पना गर्थे ।

स्कुले जीवनमा उनको मन पढाइमा थिएन । कक्षाका ‘लास्ट बेन्चर’ थिए । सेतो कागज भेट्यो कि चित्र कोर्न बसिहाल्थे । दसैँ, तिहार आएपछि शुभकामना कार्ड बनाउन उनीकहाँ साथीहरूको लाइन लाग्थ्यो । चक काटेर स–साना टुक्रा बनाउँथे र डटपेनले कोरेर शिवलिंग बनाउँथे । रूखको चोप निकालेर त्यसमा सेतो माटो मिसाउँदै रङ बनाउँथे । अँगारबाट कालो रङ तयार पार्थे । त्यसरी नै उनले चित्र कोर्न सिके ।

नुवाकोटमा जापानी स्कुलले आयोजना गरेको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भए । रङ र कापी पुरस्कार पाए । त्यसले उनलाई चित्रकलामा लाग्न थप उत्साहित बनायो । काठमाडौंबाट गाउँ पुगेका एक आफन्तले ललितकला क्याम्पसमा पढ्न सल्लाह दिए । त्यतिवेलासम्म उनलाई ललितकलाबारे थाहा थिएन । एसएलसी उत्तीर्ण भएपछि काठमाडौं आए ।

आइकम उत्तीर्ण भएपछि ललितकला क्याम्पसमा भर्ना भए । व्यवस्थापन पढ्न छाडेकामा परिवारले घर फर्कायो । परिवारले बिबिएस पढ्न पठाएका उनले आफ्नो धोको पूरा गर्न ललितकला नै पढे । सजायस्वरूप घरबाट पढाइखर्च आउन छाड्यो ।

कलाकारले प्रयोग गर्ने पेपर र पेन्सिल कस्तो हुन्छ भन्ने ललितकला क्याम्पस गएपछि मात्र थाहा पाए । तर, ललितकलाको प्रवेश परीक्षामा अनुत्तीर्ण भए । आशाको त्यान्द्रो चटक्क चुँडिएजस्तो लाग्यो, उनलाई । तर, हिम्मत हारेनन् । व्यवस्थापन विषय लिएर अध्ययन थाले । व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएपछि उनी फेरि ललितकला क्याम्पस पुगे ।

र, भर्ना पनि पाए । व्यवस्थापन पढ्न छाडेकामा परिवारको चर्को दबाब आयो । उनी गाउँ फर्केर एक महिना बिताए । परिवारले बिबिएस पढ्न फेरि काठमाडौं पठायो । तर, उनले ललितकला नै पढे । त्यसको सजायस्वरूप घरबाट पढाइखर्च आउन छाड्यो । ललितकलामा पेन्टिङ, संगीत र मूर्तिकला विषय अध्यापन हुन्थ्यो । उनले मूर्तिकला लिए । प्रवीणता प्रमाणपत्र र स्नातक तह पढे । त्यसक्रममा नौवटा मूर्ति बनाए । अंग्रेजी विषयमा ‘ब्याक’ लागेकाले स्नातक तह पूरा गर्न सकेका थिएनन् । सोही क्रममा मूर्तिकार पूर्ण बनेमको समीप पुगे । उनकै पछि लागेर मोरङ पुगी मूर्तिहरू बनाउने मौका पाए । त्यसबाट उनको जीवनले फड्को मा-यो ।

सोही क्रममा चीनमा चार वर्ष मूर्तिकला अध्ययन गर्ने छात्रवृत्ति पाए । ०६८ सालमा आएर मूर्तिकलाको व्यावसायिक यात्रा थाले । साथीसँग मिलेर ठमेलका व्यापारी, किरात धर्मगुरु फाल्गुनन्द, यलम्बर र बुद्धको मूर्ति बनाए । पृथ्वीनारायण शाह, बिपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारीलगायत राजनेताका मूर्ति बनाए । ‘नेपालमा परम्परागत मूर्तिकला पाटनमा मात्रै टिकेको छ,’ उनी भन्छन्, ‘नेपालमा मूर्तिकलाको विकास हुन धेरै बाँकी छ ।’

– नयाँ पत्रिकाबाट


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS