NCCI 6th Nuwakot Mahotsav 2076

स्मृतिका तरेलीहरूमा महामण्डल साहित्य यात्रा

Shreeram Shrestha

-श्रीराम श्रेष्ठ

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले बर्सेनी नुवाकोट र रसुवा जिल्लाका फरक फरक ठाउँमा ‘साहित्य यात्रा’ सञ्चालन गर्दै आइरहेको छ । वि.सं.२०६६ साल १५ गतेका दिन ‘महामण्डल साहित्य यात्रा’को आरम्भ भएको थियो । उक्त दिन गणतन्त्र दिवस परेको थियो । यात्रा तादी नदीको तिरबाट आरम्भ भएर नुवाकोटको प्रसिद्ध स्थल महामण्डल पुगेर टुङ्गिने कार्यक्रम रहेको थियो ।

काठमाडौँबाट अतिथि स्रष्टा ल्याउने जिम्मा पुष्कर लोहनी र उज्जवल जी.सी.लाई सुम्पिएको थियो । उहाँहरू नुवाकोट साहित्य प्रतिष्ठानका संरक्षक एवम् सल्लाहकार भएको नाताले यो जिम्मेवारी प्रदान गरिएको थियो । उहाँहरूले खुसीसाथ जिम्मेवारी लिइदिनुभएको थियो ।

जेष्ठ १५ गते बिहान ८ बजे बालाजुको माछापोखरीबाट राजधानीबाट आउने टोली हिँडिसकेको जानकारी उज्जवल दाइबाट पाउनसाथ हामीले यहाँ स्वागतको तयारी गर्‍यौँ । स्रष्टाहरूको टोली आइपुग्न साथ भीमसेन मा.वि.का छात्रछात्राहरूले बट्टार बजारमा यात्रामा सहभागी कवि तथा लेखकहरूलाई रातो टीका र खादा लगाएर भव्य स्वागत गरे ।

‘महामण्डल साहित्य यात्रा’ सहभागी हुन आउनुभएका स्रष्टाहरू हुनुहुन्थ्यो– प्रा. दिनेशराज पन्त, पुष्कर लोहनी, डा. खगेन्द्रप्रसाद लुईंटेल, डा. म्यानफ्रो ट्रिउ, कुमार राउत, कृष्ण प्रसाईं, प्रक्षेपण प्रसाईं, डा.बमबहादुर थापा ‘जिताली’, तुलसीहरि कोइराला, धर्मराज बराल, राधेश्याम लेकाली, प्रमोद प्रधान, तृष्णा कुवँर, कृष्ण प्रसाईं, दीपक सापकोटा, छविरमण सिलवाल, कुमार नगरकोटी, युवराज नयाँघरे, रामप्रसाद पन्त, कृष्ण अविरल, राजकुमार बानियाँ, भीष्म उप्रेती, खिमानन्द पोखरेल, रमेशजङ्ग सिजापति, बैरागी जेठा, धर्तीचन्द्र यात्री, सुमन सौरभ, सुरेश हाचेकाली, प्रभाती किरण, उज्ज्वल जी.सी. र महेश पौडेल ।

विदुरमा भेला भई लामबद्ध भएर हामीले यात्राको आरम्भ गर्‍यौँ । सबैको अनुहारमा उत्साह र उमङ्गको आभा छाएको देखिन्थ्यो । जम्मा भयौ । गणतन्त्र दिवसका दिन हामीले नुवाकोटको इतिहासमा एउटा इतिहासको रचना गरिरहेका थियौँ ।

हामी शेराबेँसीको नुवाकोट माडी दरबार परिसरमा ओल्यिौँ बसबाट । नुवाकोटको पृष्ठभूमि बुझ्नका लागि यस दरबारका बारेमा थाहा पाउनै पर्छ । तर, यस दरबार सशस्त्र द्वन्द्वको चपेटामा परेकाले भग्नावशेषमा परिणत भएको छ । ऐतिहासिकता झल्किने केही वस्तुहरू भने जीवितै छन् । म यात्री स्रष्टाहरूलाई यसबारे जानकारी गराउँदै अगाडि बढ्छु ।

पृथ्वीनारायण शाहको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएको देखिन्छ । नुवाकोट प्रदेशको भौगोलिक अवस्थाले गर्दा हिउँद यामका लागि नुवाकोट दरबार र वर्षा यामका लागि नुवाकोट माडी (शेराबेँसी) दरबार । पृथ्वीनारायणले नेपाल एकीकरण अभियानको सिलसिलामा आफू अन्ततिर जाँदा नुवाकोटमा युवराज प्रतापसिंह शाहलाई स्थानीय प्रशासनको अभिभारा सुम्पेर जाने गर्दथे । माडी दरबारको शिलालेखमा युवराज प्रतापसिंहको वर्णन गरिएको छ । अभिलेखमा पृथ्वीको आदर्श भन्दा चढ्दो उमेरका युवराज प्रतापको आदर्शको चित्रण गरिएको छ ।

यस दरबारको प्रमुख अङ्गको रुपमा रङ्गमहल थियो । शिलालेखमा ‘सब्यघाद रड्त्रसोधम्’ भनी लेखिएको छ । रङ्गमहलअन्र्तगत रहेका कचहरी पनि एक विशेष रहेको पाइन्छ । हाल १२० मिटर जतिको घेराभित्र भग्नावशेष मात्र बाँकी छ रङ्गमहलको । तोलिया इँटाका ढिस्काहरू मात्रै छन् । यसको उत्खनन् गरी संरक्षण र सम्वर्बद्धन गरिनु पर्ने मलाई लाग्छ । त्यसताक गडखारसम्म व्यापारको केन्द्र फैलिएको थियो रे । शेराबेँसीमा पनि भाइभारदारहरूका लागि घरहरू बनेका रे । मूल दरबार भत्किएपछि ती घरहरू पनि पातल बने । अहिले केही अवशेष मात्र बाँकी रहेका छन् ।

शिलालेखमा सुगन्धी पिउने पानी भएको इनारको वर्णन पनि छ । जुन अहिलेसम्म देख्न सकिन्छ । त्यस्तै, अनेक थरी फूलहरू भएको बगैँचा कुसुमबाटीकाको वर्णन छ गरिएको पाइन्छ शिलालेखमा । शेराबगैँचा नामले चिनिन्छ अलिहे उक्त बाटिका । शेरा दरबार बनेपछि यहाँ फागु उत्सव विशेष रूपमा मनाउने गरेको पाइन्छ । त्यस अवसरमा नुवाकोट नगरबासीहरूको साथमा स्वयम् प्रतापवीरविक्रम शाहले पनि गानाबजानामा भाग लिने गरेको कुरा शिलालेखमा वर्णित छ । प्रतापले वि.स.१८३३मा नुवाकोटका धामी नागदेवलाई लेखेको पत्रबाट पनि यस दरबारबारे केही मात्रामा थाहा पाइन्छ ।

परम्पराअनुसार पृथ्वीनारायण शाहले अन्तिम समय तादीको किनारमा रहेको रमणीय दरबारमा बिताएको पाइन्छ । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । यसकारण पनि माडी दरबार ऐतिहासिक महत्वको रहेको छ ।

धरतीमा विस्तारै साँझ ओर्लिदैछ । वातावरण एक तामासले रुमानी बनिरहेको छ । आज हामी तादी खोलाको किनारमा रात गुजार्ने छौँ । क्याम्प फायर गरेर । काव्यिक आदान प्रदान गरेर । पूरै रात साहित्यिक र काव्यिक हुने कल्पना मनभरि सँगाल्दै हामी तादी ताकेर खेतका आली आलीमा हिँडिरहेका छौँ । जुत्ता हात हातमा लिएर स्रष्टाहरू खेतका आलीमा लस्करै हिँडिरहेको दृश्य कुनै चलचित्रको दृश्य भन्दा म छैन ।
पन्त सर र लोहनी सरलाई हिँड्न कठिनाइ भइरहेको छ । उहाँहरू थकाई मार्दै विस्तारै अगाडि पाइला बढाउँदै हुनुहुन्छ । आयोजक मध्येका रमेश सुवेदी, बासुदेव बानियाँ, सुरजकुमार श्रेष्ठ र उपेन्द्र ओझाहरू कार्यक्रम स्थलमा पुगी टेन्ट टाँगेर बसिसकेका रहेछन् ।

सबै जना टेन्टमुनि आश्रित भए । अब कार्यक्रमको तायरी भयो । कार्यक्रम सञ्चालन गर्न तयार भए नुवाकोट साहित्य प्रतिष्ठानका सचिव निश्चल अधिकारी । प्रमुख अतिथि बनाइयो प्रा. दिनेशराज पन्तलाई । नेपालको साहित्यिक तथा राजनीतिक इतिहास बुझ्न नुवाकोटलाई बुझ्नै पर्ने पन्त सरले सुझाउनुभयो ।

प्रमोद प्रधानले नेपाली निबन्धको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि युवराज नयाँघरेले टिप्पणी गरे । यज्ञरथ पुडासैनी, सुमित्रा पौडेल, गीता पुडासैनी, राधेश्याम लेकाली, रामप्रसाद पन्त, उत्तम थापा, थरेन्द्र बराल, प्रक्षेपण प्रसाई, दिव्य गिरी, तुलसीहरि कोइराला, मोदनाथ अधिकारी, प्रभाती किरण, सन्तोषी अधिकारी, सुरेश हाचेकाली लगायतले कविता, गजल, मुक्तक र लघुकथा सुनाए ।

पुष्कर लोहनी, डा.म्यानप्रेड ट्रिउ, डा.खगेन्द्र लुइटेल र नरेन्द्रराज पौडेलले मन्तव्य राख्नुभयो । मैले सभापतिको हैसियतले औपचारिक कार्यक्रमको बिट मारेँ । अब कार्यक्रम अनौपचारिकतातर्फ मोडियो । खाने–पिउने क्रम आरम्भ भयो ।

रसुवाका उत्तम थापा मादल बजाउन थाले । मादलको तालमा डा. लुइटेल नाच्दै छन् । हौसिँदै नरेन्द्रराज र डा.म्यानप्रेद पनि कम्मर मर्काउन थाल्छन् । पिउनेहरू पिइरहेका छन् । गीत गाउने र नाच्ने नाचिरहेका छन् । जति रात छिपिँदै छ त्यति नै बेजोडको प्रस्तुति हुँदै छ । बीचबीचमा काव्य वाचन पनि चलिरहेकै छ । कुमार नगरकोटीलाई विस्तारै बिजुलीपानीको मातले स्पर्श गर्न थालेको देखिन्छ । उहाँ शालीन र शान्त देखिन्छन् । कसैसँग नबोल्ने । एकान्त मन पराउने । राति ११ बजेतिर हाम्रो साथबाट नगरकोटी एकाएक गायब भए । खोजी ग¥यौँ । कतै भेटिएनन् । राति १ बजेमात्रै हामीबीच आए । भन्थे, ‘म त नदी निकारमा गएर बसेँ ।’

गर्मीको मौसम । ओढ्ने ओछ्याउने खासै नचाहिने । सामान्य एकसरो ओछ्यानमै मस्तसँग निदायाँै हामी । बिहानीपखको चिसो चिसो हावाले एकाएक ब्युँझायो । तादीको पानीमा अनुहार धोएपछि सबै जनामा ताजगी देखियो । सहभागी सबै जना तादी खोलाको पानीले फ्रेस भयौँ । कोही कोहीको ह्याङ भने हटेकै थिएन ।

अब हाम्रो यात्रा महामण्डलतिर डोरियो । पुनः खोलाको डिलैडिल भएर गङ्गटे बजार पुग्यौँ । गङ्गगटे बजारबाट चाहिँ यात्राका लागि रिजर्भ गरिएका बस चढेर हामी उकालियौँ । विदुरबाट पाँच कि.मि. ठाडो पक्की मोटरबाटोबाट पुगिन्छ नुवाकोट बजार ।

दिव्य गिरी नुवाकोटबारे प्रकाश पार्दै थिए । सबैभन्दा पहिले हामीले नुवाकोटकै प्रसिद्ध भैरव–भैरवी मन्दिरमा गएर दर्शन ग¥यौँ । त्यसपछि हाम्रो यात्रा फेरि अगाडि बढ्यो ।

वि.सं.१७८२ जगजय मल्लको पालामा स्थापित भैरव–भैरवी मन्दिर जिल्लाकै सार्वधिक महत्वपूर्ण धार्मिक स्थलको रूपमा लिइन्छ । वि.सं.१७९५मा लक्ष्मीनरसिंह मल्लले जिर्णोद्धार गराएको इतिहास पाइन्छ । वि.सं.१८४९सालको नेपाल–चीन युद्धपश्चात् रणबहादुर शाह र राजकुमार बहादुर शाहले मन्दिरमा इँट्टाको छाना हाल्न लगाएका रे । तोरण टुँडालहरू कलात्मक देखिन्छन् । मन्दिरभित्र भैरव–भैरवी, बाराही, गणेश, अष्टमान्टका, चामुण्डा, इन्द्रायणी, कुमारी, ब्राम्हामणी आदि देवीदेवताहरूका मूर्तिहरू देखिन्छन् । मन्दिरको पेटीमा पित्तलबाट निर्मित दुईवटा सिंह, पेटीमा दायाँ–बायाँ हातमा सिन्दूर पात्र लिएका दुई स्त्रीमूर्ति देखिन्छ । पेटीनजिक ठूलो त्रिशूल छ भने मन्दिर तोलिया इँट्टाद्धारा निर्मित दुई तलाको रहेको छ ।

मन्दिर उच्च स्थानमा रहेको हुँदा आकर्षक देखिन्छ । यहाँबाट वरिपरि रहेका बट्टार, इनारपाटी, माझीटार, चैनपुर, खड्गभञ्याङ, आदि गाउँबेसीहरूको रमणीय दृश्य अवलोकन गरियो । पुरातत्व विभागको सहयोगमा नेपाल सरकारका प्रतिनिधि बस्ने द्वारेघर, धामीधमिनी एवम् पुजारी बस्नेघरको निर्माणका साथै तीर्थयात्री बस्नका लागि मन्दिर छेउमा र मन्दिरको पूर्वपट्टि लामपाटीको जीर्णोद्धार गरिएको छ । मन्दिरको उत्तरपट्टि एउटा ठूलो घण्टी देखिन्छ । घण्टीको तौल १५० के.जी रहेको स्थानीयको भनाई छ । वि.सं.१८५६मा रणबहादुर शाहका प्रधानमन्त्री त्रिभुवन सिंहले चढाएका हुन् रे । विशाल राष्ट्र निर्माण गर्ने अभिप्रायले हिँडेका पृथ्वीनारायण शाहलाई साक्षात भैरवीले सपनामा दर्शन दिएकाले नै अहिले नेपाल सिङ्गो राष्ट्र हुन गएको कुरा इतिहासबाट थाहा हुन्छ ।

मन्दिरभित्रका ढलौटका मूर्तिहरू प्वाल परी मुखाकृति नै बिग्रिएको हुनाले १२ वटा दुरूस्त ढलौटका मूर्तिहरू वि.सं. २०५८ साल फागुनमा प्रतिस्थापना गरिुउको पुजारी अर्थात् धामी हरिबहादुर सिंह डङ्गोलले सुनाए । ती मुखाकृति बिग्रिएका मूर्तिहरू नुवाकोट दरबारमा राखिएको रहेछ । मूर्तिहरू घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरका कालीगढहरूद्धारा निर्माण जानकारी पाइयो ।

भैरव–भैरवी मन्दिरको स्थापनाका सम्बन्धमा धार्मिक किम्बदन्ती यस्तो रहेछ– परापूर्व कालमा नेपालमा गोरखनाथले नागका साथ आसन गरी मृगस्थलीमा तपस्या गर्नुभयो । त्यसबेला १२ वर्षसम्म अनावृष्टि भई धानको गेडाभित्र चामल नभएपछि कान्तिपुरका आचार्य बन्धुदत्त, ललितपुरका ललित किसान र कर्कट नाग समेत भएर कामरूप कामक्षबाट मछिन्द्रनाथलाई नेपालमा ल्याउने अभियान सुरू भयो । त्यसबेला उनीहरूले कामरूपका राजाहरूसँग लडाइँ गर्नका लागि शिवजीका चारवटा भैरवको सहायता लिएका थिए । ती चार भैरवमध्ये एक भैरवलाई नुवाकोटमा स्थापना गरियो ।

छोटो समयको भ्रमणले नुवाकोटलाई बुझ्न अलि गाह्रो पर्ने र ऐतिहासिक दस्तावेज पढ्नु पर्ने कुरामा जोड थियो पुष्कर दाइको । उनको पुख्र्यौली घर नुवाकोटको थानसिंह । नुवाकोटका बारेमा पुष्कर दाइलाई थाहा नहुने कुरै भएन ।

नुवाकोटको मुख्य आर्कषक केन्द्र साततले नुवाकोट दरबार । यात्रामा सहभागी अतिथि कवि, लेखकहरू दरबारको भुइँतलादेखि सातौँ तलासम्मको अवलोकन गर्न लामवद्ध भएर बसेका छन् । साततले दरबार कलात्मक एवम् सुन्दरताको एक नमूना हो । पृथ्वीनारायण शाहले विशाल राष्ट्र निर्माण गर्ने विचारले अभिप्रेरित भई युद्धमा होमिएर वि.सं.१८०१ सालमा तीन पटकको प्रयासमा नुवाकोट विजयपछि प्रशासनिक, सैनिक, नेपाल भोट, वाणिज्य व्यापारको परम्परागत मूलद्धार, सामरिक आदि दृष्टिकोणका साथै त्यसताक अन्य राज्यका मल्ल राजाहरू कहिले एकजुट भएर सामना गर्दथे भने कहिले अंग्रेजको सहयोग लिएर लड्थे ।

एकीकरण अभियान अगाडि बढाउन सुरक्षात्मक उपाय खोज्न बाध्य भई, नुवाकोटको डाँडामा दुईसय ४० वर्ष अगाडि एक असल किल्लाको रूपमा उनले सो दरबार बनाएका हुन् भन्ने कुरा शिलापत्रमा उल्लेख छ ।

बृहत् नेपालको निर्माण गर्न सजिलो पर्ने हुँदा गोरखबाट पृथ्वीनारायण शाहले राजधानी नुवाकोट सारेका थिए । राजधानी घोषित गरेपछि त्यसताक आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरू सुदृढ हुने मौका पाएको थियो । वि.सं.१९९० साल भन्दा पूर्व दरबार नौ तलाको थियो भने महाभूकम्पको धक्काले माथिल्लो दुई तला भत्किई अहिले सात तलामा सीमित रहन गएको जनविश्वास रहेको छ ।

नेपाली वास्तुकला शैलीमा निर्मित नुवाकोट दरबार उच्च ठाउँमा रहेको हुँदा दरबार आकर्षक र मनोरम देखिन्छ । तोलिया इँट्टाद्धारा निर्मित यो दरबार आयत आकारको छ । दरबारको भुइँ तलाको गाह्रो र बीचको खण्डित गाह्रोको मोटाइ छ/छ फुटको रहेको छ । पहिलो तलाबाट माथिल्लो सात तलासम्म पुग्दा गाह्रोको मोटाई घट्दै गई तलाको गाह्रो २.५ फुट रहेको छ ।

दरबारको मूल ढोकाबाट छिर्नसाथ पूर्वपट्टि फर्काएर टाँसिएका नै वटा नवदुर्गाका मूर्तिहरू देखिन्छन् । मूर्ति बास्तुकलाबाट निर्मित छ । दरवबरको भुइँतलाबाट चार सुरमा चारवटा खोपा रहेको देखिन्छ । जुन खोपबाट १० फिट अग्ला छन् । त्यसताक सुरक्षाकर्मीहरू तिनै खोपामा राति सुत्ने गर्दैथे रे ।

भुइँतलाबाट दोस्रो तलामा उक्लने भर्‍याङ छ । दोस्रोे तलाको पूर्व दिशामा ढुकुटी र पश्चिम दिशामा खाजम्पी कोठाहरू छन् । कोठामा बारिएका फल्याकमा कँुदिएका बुट्टाहरू सुन्दर देखिन्छन् । तेस्रो तलाको दक्षिण दिशामा राजारानी बस्ने गद्धीकोठा र पछाडिपट्टि कोठामा इस्टदेवीको आसन छ । त्यस कोठामा गद्धिसिन राजा र राजाका पुरोहित बाहेक अन्यलाई प्रवेश गर्न अनुमति थिएन रे । उक्त कोठामा बडादशैँको समयमा घटस्थापनादेखि दशैँभरि पूजाआजा गर्ने चलन थियो रे ।

चौंथो तलामा राजारानी सुत्ने कोठा भिन्न भिन्न रहेछ । यस कोठामा प्रयोग गरिएको काठको मोटाई करिव ८/९ रहेको छ । चौथो तल्लाको चारैतिर बार्दलीको चारैतिर प्रयोग गरिएका आँखीझ्यालका बुट्टाहरू आकर्षक देखिन्छन् । पाँचौँ तलामा एउटा फराकिलो कोठा छ । काठको चारैतिर अनगिन्ती झ्यालहरू भएको हुँदा कोठा उज्यालो देखिन्छ । उक्त कोठामा प्रत्येक वर्षको आश्विन शुक्ल नवमीका दिन नौ जना कन्यालाई राखी विशेष किसिमको पूजा गर्ने चलन परम्परादेखि चलिआएको पाइन्छ ।

छैटौँ तलामा पूर्वपट्टि ससाना झ्यालहरू छन् । उक्त झ्यालबाट बाहिर स्पष्टसँग देख्न सकिन्छ । तर, बाहिरबाट भित्र देखिँदैन । त्यसताक पृथ्वीनारायण शाह दरबारमा विराजमान नहुन्जेलसम्म झ्यालबाट सतर्कतापूर्वक हेर्न गरिन्थ्यो रे । सुरक्षाका कारण यसो गरिन्थ्यो रे ।
सोही तलाको पश्चिमपट्टि देशद्रोहीहरूलाई कालकोठरीमा थुुनेर यातना दिनुका साथै मृत्युदण्डसम्म दिइन्थ्यो भन्ने इतिहासमा उल्लेख पाइन्छ । सातौँ तलाबाट मनमोहक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । माथिल्लो तला सानो रहेको हुँदा थोरै मान्छेहरूमात्र पुग्न सकिने । पुरातत्व विभागले दरबारको झिँगटी, कलात्मक काठहरूमा रासायनिक विधि अपनाई संंरक्षण गर्ने काम थालिएको छ । यसरी ऐतिहासिक नुवाकोट दरबार अवलोकन गर्दा समय बितेको पत्तै भएन ।

यात्रा अगाडि बढयो । उच्च ठाउँ, तलेजु भवानी परिसर । उक्त मन्दिर ५ तलाको छ । पेगौडा शैलीमा निर्मित भव्य देखिन्छ । वैशाख पूर्णिमा लाग्ने देवीघाट र नुवाकोटमा लाग्ने सिन्दुरे जात्राको समयमा जम्मा २० दिन मात्र मन्दिर खुल्ला रहने स्थानीय बासिन्दा बताउँछन् । मन्दिर जीर्ण रहेको छ । एक रोपनी जति क्षेत्रफल ओगोटेको मन्दिर बीच भागमा रहेको छ । काठ, इँट्टा, माटो र झिँगटीद्वारा निर्मित मन्दिरको आकार दरबार जस्तै देखिन्छ । मन्दिरको उचाई ५२ फिट, लम्वाई ४७ फिट, चौडाई ३०फिट, गाह्रो को भित्ता ३ फिट देखि ६ फिटसम्म रहेको छ । भने मन्दिरमा जम्मा १९ वटा ढोठा र २६ वटा आँखीझ्यालहरू रहेको छ । १०वटा ढोका कलात्मक हुँदा हेर्न लाएक देखिन्छ । मन्दिरको भुइँतलामा ३वटा ढोका र ८वटा झ्याल रहेका छन् । त्यस्तै २वटा कोठा पनि त्यहाँ रहेको छ । दोस्रो तलामा ३वटा ढोका र ९वटा आँखीझ्याल र ३ वटा कोठाहरू छन् । यसै कोठामा बाहिर जाने भ-याङबाट राँगा काटी तेस्रो तलामा रहेको भवानी मातालाई भोग दिने चलन रहेछ । भवानी माताको मन्दिरमा राजा र पुजारी बाहेक अन्य जान नहुने जनविश्वास रहेछ । तेस्रो तलामा ६वटा कोठाहरू छन् । दुईवटा साधारण कोठा, एउटा अगेना कोठा र एउटा बैठक कोठाका साथै पश्चिमतिर दशैँ कोठा र भण्डार कोठा रहेछको छ । चौथो तलामा पाँच वटा कोठा छन् ।

तलेजु भवानीको बारेमा स्थानीय बासिन्दाहरूको मत यसप्रकार रहेको छ— एकदिन नान्यदेवले सपनामा एक अति रूववती स्त्री आई ‘म तेरो पुर्खाको इष्टदेवी हुँ म सरयू नदीको पानीभित्र छु । त तुरून्त उठेर नदीबाट झिक । म बसेको ठाउँमाथि नदीको भमराहरूले छोपेर राखेको तैँले देख्नेछस् भने पश्चात भमराहरू एकतत्र भएकोदेखि सोही ठाउँमा डुबी सुनको बाकस प्राप्त भयो र त्यो सुनको बाकस खोलेर हेरेपछि तुलसा भवानीको यन्त्र पद्धति र बाहिरपटि पुस्तक समेतको लामाको सानो बाकस पाए । उक्त बाकस माथि उनै अकेलले कुदेको श्लोक रामैवत्ति नान्यदेवो भविश्यान्ती देखियो । नान्यदेवले सो श्लोक र यन्त्र पुजा विधिलाई देवीको पूजा आजा गर्न थालिएको भन्ने धार्मिक विश्वास रहेको छ ।
तलेजु भवानी मन्दिर परिसरमा अवलोकन गर्ने क्रममा भेटिए श्यामसुन्दर श्रेष्ठ । समाज सेवी, शिक्षाप्रेमी, अतिमिलनसार श्यामसुन्दर निकै अनुभवी । उनको न्यानो आतिथ्य पायौँ । उनी सम्पदा भन्ने संस्थाका अध्यक्ष हुन् । उनको संस्थाले सम्पदाहरूको संरक्षण, संर्बद्धण गर्नुका साथै प्रचार प्रसारमा पनि अगुवाई गरिरहेको छ । संस्थाले आफ्नै लगानीमा म्युजियम पनि खोलेको रहेछ । श्याससुन्दरको अनुरोधमा हामी म्युजियम अवलोकन गर्‍यौँ ।

हाम्रो अन्तिम गन्तव्य महामण्डल । महामण्डल नुवाकोटदेखि उत्तरदिशामा रहेको छ । पहिले महामण्डल भन्नाले पुरै डाँडोलाई बुझिन्थ्यो । महामण्डल छुट्टै राज्य थियो । जस्का शासक मल्ल थिए । प्रमाणहरू त्यति भेटिएको छैन यद्यपि उपलब्ध प्रमाणको आधारमा सम्वत ४८२ देखि ४८९ सम्मको अभिलेखलाई हेर्दा महामण्डलका पहिलो शासक भीम गुप्ता हुन् । गोरखाका राजा पृथ्वीनारायण शाह थिए भने महामण्डलका जयप्रकाश मल्ल थिए ।

पृथ्वीनारायण शाहले नुवाकोट दोस्रो पटक हार्दा सोचका साथ पहिलो माथिल्लो भाग महामण्डल विजय गरेपछि तेस्रो पटकको पालामा नुवाकोट विजय गर्न सफल भएको थियो । त्यसैले महामण्डलको इतिहास लुकेको छ । तसर्थ अनुसन्धानकर्ताहरूले लुकेका कुराहरू खोतल्नु आवश्यक देखिन्छ ।

महामण्डल जानका लागि मोटरबाटो खनेको रहेछ । मूलबाटो अगाडि नै एउटा शमीको बोटमुनी सानो मन्दिर देखियो । मन्दिरमा गई दर्शन गर्‍यौँ । स्थानीय गाउँलेहरूसँग मन्दिरको बारेमा भलाकुसारी गर्‍यौँ । पत्थरद्धारा निर्मित कालो रङ्गको मूर्ति भयङ्कार देखिन्छ । केही भाग जमिनमुनि गाडेको हेर्दै डरलाग्दो देखिन्छ । मन्दिरमा आई जथाभावी गर्दा आपतकालीन अवस्था सृजना हुन सक्ने स्थानीय रामकृष्ण बानीयाको कथन ।

रामकृष्ण स्थानीय समाजसेवी हुन् । उनले महामण्डलको परिसर सम्पूर्ण घुमाइदिए । महामण्डल परिसरमा मालिका र कालिकाको मन्दिर पनि रहेछ दुबै मन्दिरको दर्शन गर्‍यौँ । महामण्डलमा शीतल महसुस भयो । सरर चिसो हावाको आनन्द लिँदै हामी ओरालोतर्फ लाग्यौँ । यसरी सम्झनाका तरेलीहरूमा छाइरहने स्मृति बनेर मन र मष्तिष्कमा बसिरहेको छ, महामण्डल साहित्य यात्रा–२०६६ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS