अनुभुतीमा निजामती सेवा

Uday Ranamagar

कुनै पनि चिजको महत्व आफैले अनुभुति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र । हो यो कुरा मेरो मानसपटले अनुभुति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यि बुढापाकाहरुले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफैले भोगेका ती अग्रजहरुको कुरालाई हावामा उडाएकोमा आज आफैलाई आत्माग्लानी हुन्छ । शरिरमा बलको उन्माद हुदाको बखतको कुरै अर्कै । धर्मशास्त्र अनि अनुभव र अनुभुतिलाई आत्मसाथ गर्नसक्ने हाम्रो दुसास नै कहा थियो र । पाखुरीको बल अनि आधुनिकताको पाठ पढेको हामी साच्चै कलियुगको उन्माद हात्ति झै थियो । अनुभव तथा भोगाईका खानी अग्रजहरुको अनुभवलाई साच्चै हामीले वेवास्था मात्र होइन अपहेलना नै गरेको रहेछौ नी विगतमा ।

म मेरो जन्मस्थलको भ्रमणको क्रममा जानेक्रममा थिएँ । बाटोमा भेटेका बटुवाहरुसंग बोलचाल नै नगरिकन । हामीमा आत्मीयता साट्ने बानीलाई आधुनिकताका पगरीले लखेटी सकेको अवस्था छ । एक जना अग्रज बाले जन्मस्थलको भ्रमणको क्रममा देख्ने वितिकै बोलाउनु भयो र भन्नु भयो । बाबु कता पुग्ने हो तर हाम्रो आधुनिकताबादी सस्कारले नचिनेको र नजानेकोसंग बोल्न हुन्न भन्ने मान्यतालाई पाठ सिकाएको थियो र केवल मोवाइलसंग मात्र झुम्मीने बानीको विकास भइसकेको छ । त्यसैको कारण होला मलाई पनि ति घेरावाला टोपी लगाएको तर हसिलो हेर्दैमा अनुभवको भण्डार नै होला जस्तो देखिने बा को अनुहारलाई एकोहोरो हेरी रहे । ती अपरिचत बा मेरो हेराई प्रति अचम्वित थिए । बाबु किन टोलाउनु भो नि । तर यो बुढाले किन डिस्टव गर्दै छ मलाई भनेर एक त रिस पो उठ्यो । तर बुढा बा को एकहोरो प्रश्नले मैले उनीसंग बोल्न र उनको कुरा सुन्न बाध्य भए । बा भन्नुस मलाई चिन्न हुन्छ र रु तर बाको जवाफ थियो नेपालीले नेपालीलाई किन नचिन्नु बाबु । तपाई कहा जान लाग्नु भएको हो बाबु । त्यस पछि मैले आफ्नो परिचय दिए । तर उहात मेरो बाबाको साथी नै हुनुहुदो रहेछ । साथीको छोरा भेटिएकोमा आफैलाई खुसी भएको भन्दै आफूमा भएका सवै अनुभवका पोकाहरु खोल्न थाल्नु भो । मेरो बाबाको साथी मैले बाबा नै भनेर संवोधन गरी तव उनी झन् उनी पुलकित हुदै भन्दै हुनुहुन्थ्यो, तिमिहरुको पालाको शिक्षा र अहिलेको शिक्षाको अवस्था धेरै फरक छ । तिम्रा पालामा तिमीहरु स्कूल जानुभन्दा पहिले एक भारी घास दाउरा गर्ने, खेतवारीमा काम गर्ने, विदाको दिनमा खेतमा काम गर्ने, बालीमा लाग्ने रोगव्याधि लाग्दा विषाधि छर्न खेतवारीमा जाने गथ्योै । पल्ला घरको पसलेको छोरा विहान बेलुका पसलमा बस्थे । त्यसैगरी उद्यमी रामबहादुरको छोरा बाबुको उद्योगमा काम सघाउथ्यो । यसो गर्दा पढाई पुरा गर्न नसक्ने तिमीहरुका दौतरी आज बेरोजगार छैन । पढ्दा पढ्दै शिकेको शिपको कारण तिनीहरु आज तिम्रा जागिरे आम्दानी भन्दा राम्रो कमाई गर्दछन् । तर अहिलेका हाम्रा नाति नातिनीलाई बोक्न नसक्ने कितावको भारी बोकाएर स्कूल पठाइन्छ । विचारा ति नानीहरुलाई व्यवहारिक कुरा त के आफ्रनो लुगा पनि लगाउन जान्दैनन् । आधुनिक शिक्षाको नाममा परावलम्वी बनाउदै छौ । तिनीहरुले जागीर पाइहाले पनि व्यावहारिकता र हाम्रो सस्कार पटक्कै जानेको छैन । अग्रेजी मात्र बोलेर आधुनिक मान्छे कहा हुन्छ र बाबु । ती असीको हाराहारीको बाबाको दुखेसोले साच्चै हाम्रो शिक्षा प्रणालीलाई हुंकार दिइरहेको थियो । यस्तो प्रकारको शिक्षा प्राप्त यूवायूवतीहरुलाई कसरी रोजगारी दिलाउने र रोजगारी प्राप्त गरेपनि हाम्रो व्यवहारिक सस्कार विर्सेकाले हाम्रो सस्कारको कसरी जगेर्ना गर्लान भन्ने प्रश्नले मलाई संसय बनायो । यसैक्रममा एकोहोरो अुनुभव सुनाउदै गरेको उनीसंग छुट्ने समय आयो । किनकी त्यतिखेरसम्म बाबाको घर आइपुगी सकेको थियो तर बाबाले बढो हार्दिकताका साथ भर्खर पारेको भैसीको मोहि खान अनुरोध गर्नुभयो उनको अनुरोधलाई अस्वीकार गर्ने भन्दा पनि उनको अनुभव आफुले प्राप्त गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिदै मिठो भैसीको मोही खाएर बाबासंगबाट विदा भए ।

Nuwakot Staff Government Nepal

छुटिएसंगै मनमा अनेकौ तरङ खेल्न थाल्यो । म राष्ट्रसेवक साच्चै राज्यको पहरेदार र अनुभवीको रुपमा आफूलाई लिन्छु र आफूलाई जनीफकारको पंतिमा उभ्याउथ्ये । तर भोगाइबाट प्राप्त अनुभव साच्चै सैदान्तिक ज्ञानको अगाडि फिका हुदो रहेछ भन्ने अनुभुत गर्दै घर तिर लागे । निजामती सेवालाई सिद्धान्तकारको भन्दा अुनुभवी जनशक्तिको खाचो रहेको छ भन्ने निष्कर्षमा पुगे । यसै सन्दर्भमा निजामती सेवामा हाल देखिएको अवकासको उमेर ६० पुरयाउनु पर्छ र पदैन भन्ने तर्क र वितर्क तर्फ उन्मुख हुन्छु । पहिले फ्रेस यूवाहरुलाई निजामती सेवामा भित्रयाउनुपर्छ भन्ने तर्कसंग पुरा समर्थन जनाउने म मेरो बाबाको साथी जस्ले सुनाएको अनुभुतिजन्य कुराले मेरो धारणा परिवर्तन गर्न काफी सहयोग मिल्यो । ६० बर्षे सेवा अवधि बनाउदा नया यूवालाई रोजगारीको अवसर त मिल्ला तर राष्ट्रको लागि के फाइदा मिल्ला त भन्ने तर्कसंग आफूलाई घोत्लिन बाध्य भए । राज्यले ३० औ बर्षको लगानी गरेर विकास गरेको कर्मचारीमा रहेको दक्षता र अनुभव ती नया युवाबाट प्राप्त नहुने तर आइटीसंग त्यति परिचीत नहुने यो अनुभवपूर्ण बर्ग वीचको तुलनामा आफुलाई साच्चै अनुभवको पक्षधर बन्न बाध्य भए । आर्थिक हिसावले समेत राज्यले करिव २५ प्रतिशतमा ती अनुभवि कर्मचारीलाई काम लगाउन सक्ने अवस्थाले राज्य पनि यो निर्णयबाट फाइदा मै हुने हुदा मेरो सतह बुझाईलाई परिमार्जन गर्दै कर्मचारीको अवकासको उमेर ६० मै राख्दा फाइदा हुने पक्षम सहमत भए । यसको अतिरिक्त नेपाली हिजोको तुलुनामा बढी बाच्न थालेको कुरा औसत आयु बढेको तथ्यले बताउछ । सन १९९० मा नेपालीको औसत आयू ५४.४ रहेकोमा हाल यो बढेर ७०.५ बर्षसम्म बाच्न थालेको सन्दर्भमा नेपाली कर्मचारीलाई ५८ बर्षमा नै घर जा भन्नुले राज्य र कर्मचारी दुवैको लागि लाभदायक नहुने देखिन्छ । राज्यले अनुभवी जनशक्ति सेवामा टिकाइ राख्न पनि अवकाशित उमेर ६० बनाउन पर्ने कुरासंग म सहमत भए । अर्कातर्फ छिमिकी देशहरुको अवकासको उमेरलाई अवलोकन गर्दा पनि ती देशहरुमा समेत अवकाशको उमेर हाम्रो भन्दा बढी भएको पाए । यो अवस्थाले मेरो मानसपटलमा अव फे्रस जनशक्ति भन्दा अनुभवी कर्मचारीले सेवा प्रवाहलाई बढोत्तरी गर्न सक्ने कुरामा सहमति भए ।

तर निजामती सेवा अहिले समाजको सवै पक्षको अवहेलनाको पाटो बनेको छ । घुषखोरी, कामचोर, नातावाद क्रिपाबाद, प्रक्रियासंग रमाउने, जस्ता उपनामबाट प्रताडित छ । करिव डेललाखको हाराहारीमा रहेको सार्वजनिक सेवाको कर्मचारी मध्ये केही त्यस्ता कर्मचारी पनि होलान् तर सवैलाई एकै डालोमा राखेर मुल्याकन गर्ने परिपाटी हाम्रो समाजमा रहनाले राम्रा कार्य गर्नेको पनि मनोवल गिर्ने अवस्था छ । जनयुद्धको समयताका राज्य नै फे्रजाइल हुन्छ की भन्ने अवस्था एकातिर थियो भने अर्कातिर जनप्रतिनिधि नभएको अवस्थामा समेत कर्मचारीले राज्यलाई भ्याकुम हुन नदिएको अवस्थालाई समाजका सवै बर्ग र तप्काले विर्सेको भने पक्कै हो । अहिले सवै राज्यका कमजोरीहरु कर्मचारीकै कारण भएको भन्ने चौतर्फि आक्षेप लगाइन्छ । निरिह कर्मचारीहरु जसले आफुलाई लागेको आक्षेपको सफाई पेश गर्ने हैसियत समेत राख्न सक्दैनन् । यस्तो अवस्थाको कर्मचारीबाट राज्यले लिएको सम्बद्धिको सपना साकार पार्ने लक्ष्य प्राप्तिमा शंका उव्झेको छ । सरकारको नीति कार्यान्वयन गर्ने कर्मचारीहरुको मनोवल कमजोर छ जसले गर्दा नीतिको कार्यान्वयन पूर्ण रुपमा हुने कुरामा शंका पैदा भएको छ । यसर्थ यो बर्गको मनोवल उकास्न पनि कर्मचारीको अवकास उमेर हद ६० पुरयाउन आवश्यक छ । त्यसको साथै सार्वजनिक सेवामा रहेको विकर्षणलाई हटाउन पनि यो सेवालाई थप अकर्सित सेवाका रुपमा अगाडि बढाउन पर्छ ।

एक दृष्टान्तले मलाई फेरी झक्झकाउछ । एक साथीको छोरा गोल्डमेडललिष्ट छ । अवको क्यारियर के हो भनेर सोधे खोइ अक्कल विदेश जाने सोचमा छु राम्रो जागिर नेपालमा पाइन्न । उसको कुरा नटुगिंदैमा मैले बढो जान्ने भएर सुझाव दिइहाले लोकसेवा पढेर सरकारी जागिर खान छोडेर किन जानुपरयोे । तर उसको जवाफ थियो । के छ अक्कल सरकारी जागिरमा रु तिरस्कार, बेइजत, अपहेलना, खान नपुग्ने तलव, घुषखोरीको पगरी भिर्न म यो सेवामा किन आउनु । बरु विदेश गएर इज्जतको जागिर गर्छु तर नेपालको सरकारी सेवामा जान्न । तपाइहरुले वीसऔ बर्ष सेवा गरेर के पाउनु भो फगत अवहेलना, यो सेवा भन्दा मानिसको कामको जहा इज्जत, र सम्मान हुन्छ त्यहि आफु जाने जवाफ पाए । तत्पश्चात म फेरी आफूलाई सोच्न बाध्य भए । के मैले सरकारी सेवामा प्रवेश गरेर गलत त गरिन रु सोचमग्न हुन्छु होइन होइन म यहि सेवामा २० औ बर्ष कार्य गरेर आफ्नो यौवन जिवन व्यथित गरिसके । यसलाई कसरी नराम्रो भन्न सक्छु र यो सेवालाई रु तर केही साथीहरुक्रै कारण बधनाम भने भएको भन्ने पक्के हो । अव यो सेवालाई हेला होइन आकर्षक सेवा बनाउन थप प्रयास गर्ने सोच पलायो ममा । यो अभियानले सार्थकता पाउछ वा पाउदैन भन्न गाह्रो छ । तर यर्थात कुरा के हो भने सरकारी सेवाले जनताको मन जित्न नसकेको भने यथार्त नै हो । यो सेवामा कार्यरत कर्मचारीहरु जनता र सरकारको विश्वास पात्र बन्न सकेको छैन । यो अवस्थालाई चिर्न पनि अवका दिनमा कर्मचारीले थप मेहनेत गर्नु जरुरी छ । अर्कातर्फ हाम्रो समाज र सरकारले पनि कर्मचारी प्रति हेर्ने दृष्टिकोण, गर्ने व्यवहार, सोचाई तथा हेराइमा सकारात्मक दृष्टिकोण अप्नाउन जरुरत छ । यसो भएन भने स्थायी सरकारको रुपमा रहेको निजामती सेवा कमजोर हुन जाने र सरकारी कामले पनि मुर्तरुप नपाउने हुदा सवैको चासो यसलाई सवल बनाउने तर्फ हुन आवश्यक छ । यसो भएको खण्डमा कर्मचारीको नै माध्यमबाट राज्यको सम्वृद्धि हासिल गर्ने सोचलाई कार्यरुपमा उतार्न सकिन्छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS