विचार/विश्‍लेषण

समाजको उन्मुक्ताः आधुनिकता कि विकृति?

Uday Ranamagar

जीवन र जगत सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै दर्शन हो । पूर्वीय दर्शनले आत्मिक सुख, आशिर्वचन, अरूको भलो गर, आत्मानुशासन, आफैभित्र संसार खोज्ने अभ्यास गर्नु, न्याय र समानता जस्ता आधारभूत पक्षलाई समेटेको छ ।

पूर्वीय दर्शन नेपाली संस्कार र संस्कृतिको द्योतकको रुपमा रही आएको छ । नेपालको संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिक कालसम्म आइपुग्दा विभिन्न उतारचढाव हुँदै आएको पाइन्छ । इसाको पहिलो इतिहासदेखि नवौँ इतिहासमा लिच्छविकालीन शासनको उपज नै नेपाली समाजको आधारस्तम्भ हो ।

लिच्छविकालमा केन्द्रदेखि ग्रामसम्मको प्रशासनिक व्यवस्था गरेको र हिन्दु तथा बौद्ध धर्म तथा दर्शनमा आधारित सांस्कृतिक एवम् सामाजिक संरचना, लिच्छवि लिपि र संस्कृत भाषा, धार्मिक सहिष्णुताको साथै विभिन्न प्रथा, चाडपर्व जस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यताका आधारमा नै नेपाली समाज र संस्कृतिको विकास हुँदै आएको हो । नेपाली संस्कृति लोकजीवनमा पनि आधारित छ । त्यसैले साहित्य, संगीत, कला लोकसंस्कृतिको मूल स्रोतको रुपमा नेपाली संस्कृतिलाई लिइन्छ ।

नेपाली जनजातिका मौलिक संस्कृति र परम्परा यस मुलुकका सांस्कृतिक सम्पदा हुन् । वैदिक सनातनका मूल्य मान्यता र परम्परा नेपालमा मार्गदर्शक सिद्धान्त बन्दै आएका छन् । नेपालमा बसोबास गर्ने प्रत्येक जातजाति समुदायमा कुनै न कुनै रूपमा पूर्वीय दर्शनको प्रभाव छ । नेपाली सस्कार र संस्कृति हिन्दु धर्म सोही दर्शनका आधारमा प्रचलनमा रही आएको छ ।

नेपाली समाज रुपमान्तरणको क्रममा अहिले चरमविन्दुमा पुगेको भान हुन्छ । हुन त रुपमान्तरित समाज कति उँचोमा पुगेपछि नुहिन्छ भनेर आकलन गर्न गाह्रो नै होला तर हाम्रो धार्मिक दर्शनको भनाई मान्ने हो भने अव कलियूगको प्रारभ्ध भैसकेको छ ।

समाजमा विकासको नाममा हुने गरेको विकृतिले विनासको आमन्त्रण गरिरहेको छ भन्न सजिलै सकिन्छ । ५० वर्ष पहिलेको नेपाली समाज र अहिलेको नेपाली समाजलाई हेर्दा यो बाटोतर्फ समाज जाँदैछ कि भनेर अनुमान गर्न कठिन छैन । विज्ञान र प्रविधि प्रयोगले समाजलाई त्यसतर्फ धकेल्न सहज बनाएको छ । परिवर्तनकारी समाजको दृष्टान्तलाई हेर्दा परिवर्तनको गन्तव्य सहि छ वा गलत भनेर छुटयाउन हम्मे नै परेको छ । यो कुरालाई हाम्रो समाजमा नै घटित केही दृष्टान्तले पुष्टि गर्दछ ।

एकजना मित्र जो आफूलाई अमेरिकी संस्कारमा २० वर्षसम्म बसेर नेपाल फर्केर आएको बताउँछन् । पश्चिमी समाज र संस्कृतिलाई राम्रोसँग बुझेको मेरो मित्र त्यही संस्कृति नै नेपालको समृद्धिको लागि आवश्यक बताउँछन् ।

तर एक दिन मित्रसँगको छोटो बसाईको क्रममा उसले साटेको अनुभवले मेरो आङ नै सिरीङ्ग हुन्छ । नेपाली चेलीहरु पतिको सतित्वमा बस्नु धर्म हुने कुरामा संस्कारकै रुपमा लिने गरेका छन् । मित्रको श्रीमती पनि नेपाली नै भएकोले त्यो संस्कार भन्दा फरक संस्कारमा पक्कै हुर्केको होइन होला । तर दुई साथीबिचको सल्लाह बमोजिम श्रीमती साटेर रम्ने योजना बुनेर यो कार्य गरेको अनुभव मसँग निसंकोचका साथ सुनाउँछन् ।
होला, यो संस्कार पश्चात्य मुलुकमा बस्नेको लागि सामान्य हुन सक्ला तर हाम्रो जस्तो पूर्वीय दर्शनबाट प्रशिक्षित समाजको लागि यो विषय सोच्न सक्ने कुरै होइन । हाम्रो समाजले खोजेको संस्कृतिको विकास यहि हो त किमार्थ होइन । यसलाई विकसित समाजको दृष्टान्त मानेर यसको अवलम्वन गर्ने होे भने हाम्रो समाज भोलिका दिनमा कहा पुग्ला ?

अर्को दृष्टान्तको रुपमा एक जना मित्रको श्रीमतिसँग स्वास्थ्यको कारणले गर्दा सम्बन्ध राम्रो छैन । श्रीमती उनको स्वास्थ्यको कारण श्रीमानको यौन प्यास मेटाउन असक्षम छ । यहि कमजोरीको फाइदा उठाउँदै उसले श्रीमतीलाई बाध्य बनाएर केटी साथी राख्न पाउने अनुमति लिन्छ । त्यतिमात्र कहाँ हो र घरमा नै सबै छोरा छोरीको अगाडि केटीसाथी राख्ने गरेको कुरा सुनाउँछ । तिनको श्रीमती अनि छोराछोरी सबैले बाबाको खुशीको लागि उनको केटीसाथीलाई स्वीकारेको अवस्था रहेछ । श्रीमानको खुशीको लागि श्रीमतीले मुटु माथि ढुंगा राखेर यो बाध्यताको माखे साङ्लोमा बाँधिन बाध्य रहेछन् ।

समाजमा यो र यस्ता दृष्टान्त कैयौँ छन् । तर हाम्रो बन्द समाज भित्र गुम्सिएका यस्ता घट्नाहरु प्रसस्त छन् भनेर आँकलन गर्न सकिन्छ । के हाम्रो समाजले पनि यो सस्कारलाई सही हो भनेर मान्ने हो भने हाम्रो समाजको समुन्नति होला त ? म त यो तर्कसँग सहमत छैन । हाम्रो विकासको बाधक हाम्रा धार्मिक संस्कार होइन । हामीमा विकास हुँदै गरेको कुसंस्कार नै हो भनि दावा गर्दछु । त्यसको अतिरिक्त आधुनिकताको नाममा फेरि पनि समाजमा महिला नै प्रताडित हुनुपर्ने हो भने हामीलाई त्यो सस्कार स्वीकार्य छैन ।

लिभिङ टुगेदर यानकी सँगै बस्ने यो प्रथा पनि पश्चिमी संस्कृतिको उपजको रुपमा नेपालको शहरी क्षेत्रमा भित्रिइ सकेको छ । अहिले शहरिया युवायुवती शहरमा सँगै एउटै कोठामा बस्ने गरेको पाइन्छ । यसरी विवाह नगरीकन सँगै बस्ने सस्कार हाम्रो होइन । यसरी बस्दा गैरकानूनी रुपमा बच्चा जन्मने र ती बच्चाहरु कि त मृत्यूको शिकार हुने कित उनीहरुको आमा बाबुको पहिचानमा कानुनी समस्या आउने गरेको छ । यो कार्य कानुनी आधारमा दण्डनीय पनि छ । तर शहरी जीवनशैलीले यो विकृतिलाई अपनत्व लिन थालेकोले यो थप जटिल बनेर आएको छ । नेपाली सस्कार र कानुनले समेत नमान्ने यो संस्कारकै कारण गर्दा शहरीया जीवन थप जटिल बन्दै आएको छ । आगामी दिनमा यो प्रथा भयाभहको रुपमा नै आउने निश्चित प्रायः छ ।

नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार पनि हो तर आज यो सस्कार धारासायी हुँदै गएको छ । आफ्ना तथा पराई कोही नभई सबैमा आफ्नै परिवारभित्रको सदस्यझैँ माया, सम्मान र आदार गर्ने संस्कारी स्वाभाव नेपाली समाजको हो । यो संस्कारमा पनि बादल लाग्न थालेको छ । एकांकी समाजको रुपमा नेपाली समाजको विकास र विस्तार हुँदै जान थालेको छ । बाबा आमाले कमाएको सम्पत्ति हड्प्ने र पछि उनीहरुलाई बुढेसकालमा घरबाट निकाल्ने गरेको धेरै उदाहरण पाइन्छ । उनीहरुलाई पाल्नै परे बृद्धाश्रममा लगेर राख्ने चलन नेपालमा पनि सुरु भइसकेको छ । बृद्धाअवस्थामा बढी स्याहार सुसार गर्नुपर्ने समयमा घरबाटै बाहिरीनु पर्ने नेपाली संस्कार होइन । यो पश्चिमी सस्कारको सिकाइको रुपमा नेपाली समाजमा भित्रिइसकेको छ । आज धेरै जेष्ठ नागरिकहरु सडकका पेटी र बृद्धाश्रममा देख्न सकिन्छ । आफ्ना बाबा आमा प्रतिको दायित्व समेत निर्भाह नगर्ने संस्कार विकास र बिस्तार हुँदैछ । यसलाई पनि नेपाली समाजमा स्खलित संस्कृतिको रुपमा लिन सकिन्छ ।

त्यसैगरी आत्मीयता र अनुभवको साटासाट गर्ने हाम्रा सस्कार नेपाली समाजको अर्को गहना हो । नचिनैकै जो कोही भएपनि एकआपसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो सस्कार विश्वले नै नमुना मान्ने गर्दथ्ये । मानौँ एउट छोटो दूरीको बसको यात्रा गर्दा पनि सँगै सीटमा बसेका सँग चिनजान गर्ने र अनुभवको साटासाट गर्ने र छोटो समयको चिनाइलाई दिगो बनाई राख्ने जस्ता आत्मीयता प्रदर्शन गर्ने संस्कार नेपालीमा थियो । यसवाट आत्मीयता बढ्नुको साथै एकअर्काले जानेको ज्ञानको प्रसार छिटै हुने गर्दथ्यो तर आज नेपालीहरुको हरेक घरका सदस्यहरु बिच पनि बोलचाल कम हुन थालेको छ अनुभव साट्ने कुरा त हुँदै हुँदैन । मोबाइल लगायतको उपकारणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ ।

नेपाली समाजमा हुर्कँदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति समेत भित्रिइ सकेको हुँदा यसवाट नेपाली समाजलाई बचाउन आवश्यक भैसकेको छ । नेपाली समाजको जग नै पूर्वीय दर्शन भएकोले नेपाली समाज र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि यसको प्रशिक्षण आवश्यक छ । यसको साथै नेपाली समाजमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिहरुलाई हटाउँदै राम्रा र अनुसरणयोग्य संस्कार र संस्कृतिलाई सँगै लिएर अगाडि बढ्नु पर्छ । यसो भएमा नेपाली संस्कारको पनि जगेर्ना हुन जाने र आधुनिकतालाई समेत सँगै लान सकिने हुँदा यस तर्फ सबैको ध्यान जान आवश्यक छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS