अपराध/दुर्घटना

विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता

ताप्लेजुङ/ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।

फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

मोटरसाइकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । उनीसँगै मोटरसाइकलको पछाडि रहेका खड्ग विक भने हामफालेर बाँच्न सफल भएका थिए । मोटरसाइकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गएराति जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले ग्रामीण सडकलगायतमा क्षति पुगेको बताइएको छ । यता उत्तर—दक्षिण ओलाङचुङगोला लोकमार्गको सडकखण्डमा समेत पहिरोले क्षति पुगेको छ । कतै सडक नै झरेको र कतै माथिबाट आएको पहिरोले सडक पुरेको बताइएको छ ।

यस सडकखण्डमा यातायात नै चल्न नसक्ने अवस्था रहेको फुङलिङ नगरपालिका–१० का वडाध्यक्ष गमबहादुर फुरुम्बुले जानकारी दिनुभयो ।

पहिरोले पु¥याएको क्षतिको खवरहरु आइरहेको र विवरणसमेत संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । गएराति ताप्लेजुङमा मुसलधारे वर्षा भएको थियो । अहिले विहानदेखि भने वर्षा रोकिएको छ ।  (रासस)


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS