हुस्सुभित्रको घाम नियाल्दा: श्रीराम श्रेष्ठ

hussu bhitrako gham book review shreeram shrestha

पुस्तक चर्चा

गजलका उद्गम स्थल अरबलाई मानिन्छ । संवेदनशील विधाको रूपमा लिइने गजल लयबद्व, सरल र प्रतीकात्मक ढाँचामा शेर, काफिया, रदिफ, मतला, मक्ता, तखल्लुस, बहरजस्ता मुलभूत तत्वहरूको संयोजनबाट बन्दछ । फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा लेखनको थालनी भएको हो । फारसी भाषामा गजलको अर्थ प्रेमिकाको प्रणयसंवाद भन्ने बुझिन्छ ।

नेपालको सन्दर्भमा मोतीराम भट्टले वि.सं.१९४० मा नेपालमा गजलको थालनी गरेका हुन् । उनले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजल लेखेका थिए । त्यसपछि भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल, उपेन्द्रबहादुर जिगरले गजलमा मलजल गर्ने काम गरे ।

थोरै शब्दमा धेरै अर्थ वा सन्देश व्यक्त गर्ने गजल लोकप्रिय साहित्यिक विधाको रूपमा स्थापित भएको छ । गजल विधामा कलम चलाउनेहरूको भीड नेपालमा बाक्लै देखिन्छ । त्यही भीडमा मिसिन आएकी एक पात्र हुन्– सरस्वती शर्मा ‘जिज्ञासु’

उनको जन्म वि.सं. २०२५ साउन १३ गते माता गौरीदेवी अधिकारी र पिता प्रजापति अधिकारीको कोखबाट कान्छी छोरीको रूपमा पर्वत जिल्लाको ज्ञादी कटुवा चौपारीमा भएको हो । हाल गण्डकी प्रदेशको पर्वत जिल्ला कुश्मामा स्थायी बसोबास गर्दै आएकी यिनले लामो समयदेखि नेपाली साहित्यको कविता, मुक्तक, गीत, गजल कथामा आफ्नो छाप स्थापित गर्न सफल भएकी छिन् ।

गजलमञ्च, नेपाल मानवअधिकार तथा शान्ति समाज, पर्वत साहित्य संगम, नेपाल रेडक्रस सोसाइटी, नेपाली लेखक संघ, नेपाल बाल संगठन, माधुरी साहित्य प्रतिष्ठान, बहुउद्देश्यीय पुस्ताकालय, हिन्दु नारी जागरणलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध यिनी नारी दिवस कविता पुरस्कार, जेसिस कविता पुरस्कार, धनवाणी युवा साहित्यिक पुरस्कार, संघर्ष कलम साहित्यिक पुरस्कार, प्रेस युनियन पत्रकारिता पुरस्कार, पिस एमभेस्टर, महामण्डल साहित्य सम्मान लगायतका थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित भएकी छिन् ।

साहित्यिक बजारमा आएका उनका कृतिहरू प्रकाशनको हिसाबले ‘हुस्सु भित्रको घाम’ (२०६२) दोस्रो हो भने ‘नारी आव्हान’ गीति संग्रह (२०६१) पहिलो हो । प्रस्तुत गजल संग्रहलाई तीन खण्डमा विभाजित गरिएको छ । पहिलो खण्डमा समासामयिक, दोस्रो खण्डमा प्रणय र तेस्रो खण्डमा विविध । यस संग्रहालयमा सबै गजलहरू पाँच शेरका ७२ वटा छन् । वि.सं. २०६० देखि २०६२ अर्थात् तीन वर्षका अन्तरालमा लेखिएका उनका गजलहरू नवमाधुरी, गजलविम्ब, गोधूलि, अनुराग, जनमत, रत्नराधिका, गुञ्जन, रचना, कर्णधार, पोखरा एक्सप्रेस, पोखरा पत्र, कमाण्डर, कालपृष्ठ, अभिमत, ऋतुरंग, गण्डकीका छालहरू, रहस्य, संगिन, धौलाश्री, ढोरपाटन, दिव्यमुहार, कालीको सुसेली, बाल सुसेली, नूतन, पुष्पाञ्जली, नेपाली गजल, पर्वतमाला, धौलागिरी पोष्ट, पल्लव, भावदीप, नव सौगात, पिस जनरल, प्रेक्षाजस्ता पत्रपत्रिकामा प्रकाशित हुन् ।

हुस्सुभित्रको घाम’मा प्रेमप्रणय, धोका, अठोट, आंकाक्षा, जीवनका जटिलता, सामाजिक विकृिति, विसंगति राष्ट्र प्रेम, प्राप्ति, अप्राप्ति, संयोग वियोग, सहभाव, मानवप्रेम, बिरह, बैराग्य, भ्रष्टचारजस्ता बिषयबस्तुहरूको भाव गजलमा लिपिबद्ध छन् । गजलको सुरूवात मै राष्ट्रियताले ओतप्रोत विषयलाई प्रस्तुत गरिएको छ । रोजगारीका क्रममा विदेशी भूमिमा पसिना बगाएर सपना कोरल्ने मनहरूलाई आफ्नै देशमा पसिना बगाएर सुन फलाउने सन्देश दिएकी छिन् उनले गजलमा—

यै राष्ट्रको भलो हुने सधैँ गीत गाउँछु म त
यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त

मेहनत गर्याैं भने हिरामोती यहीँ फल्छ
शुभ सन्देश सुनाउँदै पूर्वपश्चिम धाउँछु म त

विदेशीको मोहमा नै भौँतारिनु छैन मलाई
जस्तो हुन्छ यै देशमा आत्माशान्ति पाउँछु म त

मृत्युपछि पुनः जन्म पाउँछ भने मानिसले
फेरि पनि नेपालकै भू–स्वर्गमा आउँछु म त
देश दुख्दा देशभक्त नागरिकको मन दुःछ नै ।

आफू अडिएको भूमि अर्थात् देशको समृद्विको लागि संकल्प लिने स्वर गुन्जाउँछिन् उनी:

मुलुकको दुःखी मुहार हसाउँछ उसले
स्वदेशको माया मोह जगाउँछ उसले ।

यो देशको माटो बोल्छ हृदयमा बसी
शान्ति बहाल गराएर सजाउँछ जसले ।

………………

उभिदैछौँ यही धर्तीमा यही धर्तीमा मर्छौ
नेपाल यो हराभरा गराउँछ उसले ।
देश रहेमा मात्र हामी रहन्छौँ । देश नै नरहे हामी कहाँ रहन्छौ ।

तसर्थ देशप्रतिको माया स्वतस्फूर्त रूपमा जाग्ने रहेछः

मुलुकका दुष्मनले गर्न पर्दाफाश अब
होशियार भई बुझ षड्यन्त्रको जाल तिमी ।

देशलाई बचाउन जागी अब जुट्नुपर्छ
अन्यायको विरूद्वमा बनिदेउन छाल तिमी ।

राष्ट्र रहे रहनेछौँ नागरिक नेपालका
राष्ट्रघात गर्नेलाई अग्नि बनी गाल तिमी ।

सरस्वती शर्मा ‘जिज्ञासु’ लेखिका मात्र होइनन् राजनीतिक व्यक्तित्व पनि हुन् । देश दुःख्दा उनको कलम रोकिएन । आँखै अगाडि देखिएका दृश्यहरूलाई निरन्तर गजलका रूपमा लिपिबद्व गरी विभिन्न पत्रपत्रिकामा छपाइन् । जनआन्दोलन २०६२–६३ भन्दा अगाडि ठूलै आँटका साथ देशमा भएको घटना क्रमलाई उनले यसरी गजलमा समेट्ने प्रयास गरिन्ः

मारकाट नेपालमा कहिलेदेखि छुट्छ होला ?
बुद्वको यो देशमा परेवा कहिले उड्छ होला ?

बालकदेखि बृद्घासम्म सन्त्रासमा बाँचेका छाैँ
अन्योलमा डुब्यो देश मतो कहिले जुट्छ होला ?

जताततै जरा गाडिसकेको छ विध्वंशले
यो देशमा सिर्जनाको मूल कहिले फुट्छ होला ?

लडेका छन् योद्वाहरू प्रजातन्त्र जोगाउन
अन्याय र अत्याचार यहाँ कहिले टुट्छ होला ?

मुलुकमा अन्ततः शान्ति प्राप्ति भएरै छाड्नेछ भन्ने विश्वासः

बारूदी मन् मर्किने छ प्यारो नेपालमा
कुशल शान्ति फर्किनेछ प्यारो नेपालमा ।

दानवजस्ता मानवमा ज्ञान फिरेपछि
संग्राम भूमि चकिर्नेछ प्यारो नेपालमा ।

……………….

सदबुद्घि र सुविचार दिउन् ईश्वरले
सुख, शान्ति बर्सिने छ प्यारो नेपालमा ।

नेपाललाई तहसनहस पार्न खोजनेहरू
आफै डराई तर्किने छ प्यारो नेपालमा ।

गजलकार सरस्वती शर्मा ‘जिज्ञासु’ले समाजवरिपरि देखिएका परिदृश्यहरूलाई टपक टिपेर सर्टिक ढङ्गले गजलमा ढालेकी छिन्ः

नातावाद कृपावाद यो देशमा ब्यस्त हुँदा
क्षमताको कदर छैन चाकडीमा धाएँ किन ?

………

ठूलो मान्छेभन्दा तिमी असल मान्छे वन
वाउ आमाको बाटोलाई मोड्न हुँदैन !

संघर्षको बाबजुद मुलुकमा लोकतान्त्रिक व्यवस्था आयो । लोकतन्त्रको नाममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले भजाएर खाने भाँडो बन्यो । राजनीतिले भित्र्याएको बिकृति र बिसंगतिबाट आम नागरिक निराश बनेको आवाजः

भष्ट्र नेताको स्थान् पनि खाली भए राम्रो
नेताहरूलाई मान हैन गाली भए राम्रो ।

छिनमै विकास गर्ने झुट्टा भाषण किन ?
विकास गर्ने मान्छ हैन जालि भए राम्रो ।

महल बसी पजेरोमा चढी हिडेका छौ
घुसखाको सम्पत्ति भन्दा नाली भए राम्रो ।

लामो समयदेखि देशमा चलेको आन्तरिक द्वन्द्वले धनजनको अकल्पनीय क्षति पु¥यायो । अन्तमा आपसी मेले मिलापको नीतिअनुसार द्वन्द्व शान्तिमा रूपान्तर भयो । आम नागरिकले स्वतन्त्रताको श्वास फेर्न पाएँ । आम जनताहरू सदैव अमन चयन कायम भएको देख्न चाहन्छः

नेपाल आमा अत्तालिएर मौन छिन आज
कुर्सीको मोहमा सबै कोलाहल बनायौ ।

देशबासी जनता शान्तिको पुकार गर्दछन्
शान्तिकै नाउँमा तिमीले सञ्जाल बनायौ ।

मायाप्रेम भन्ने कुरा मान्छेको जीवनमा आनन्ददायीको बहर नै ल्याइदिन्छ । दुई फरक आत्मालाई जोडिने काम नै मायाप्रेमले नै हो । एकअर्कामा विश्वासको वातावरण सृजना भएपछि त्यो प्रेम अमर रहन्छ । भावनात्मक सम्बन्ध जोडिनाले नै दिन दैनिकी सहज रहन जान्छ । जसले गर्दा ब्यक्ति, परिवार र समाजमा भाइचराको सम्बन्ध अटल र अनवरत रहन जान्छ । झैं–झगडा, काटमार, हत्या, हिंसा, घट्नुको मुख्य कारण नै विश्वासमा आउने कमीले गर्दा नै हो । मायाप्रेमको दूरिले गर्दाले नै मनमा आगो बोलि अन्तत जीवन नै खरानी बनी धुँवा सरी हावामा बिलिन हुन जान्छ । जीवन पथलाई सही ढङ्गले अगाडि बढाउनका लागि विश्वासमा सधै नै अटल हुनु पर्दछ । आत्मा साक्षी राखेर जोडिएको जीवनको अन्तिम अवस्थासम्म दीघो रहन्छ । सुखदुःखलाई आत्मासाथ गर्दै अगाडि बढ्दा सन्तुष्टीको बहार नै आउँछ । एकले अर्कालाई सर्वश्व ठानेपछि बाँकी सबै फिक्का रहन जान्छ । यसरी चोखो मायाको भाव गजलमा छचल्किएका छन्:

तिम्रो साथले मेरो सहर राम्रो छ
तिम्रै हात समाएको सफर राम्रो छ ।

तड्पिरहेछौं किन तिमी राप बनी
तर पनि त्यो रापको असर राम्रो छ ।

०००

जिज्ञासुले सोच्नु छैन अझ धेरै कुरा
तिम्रो साथ बिहानीको प्रहर राम्रो छ ।

विश्वासमा अडिएको मायाले जीवनको गन्तव्य पथलाई डो¥याउन सहज तुल्याउँछ:

मार्ग दर्शक तिम्रो माया प्रेरणाको स्रोत बन्यो
तिम्रै प्रेमको सागरमा डुबी नुहाउने गर्छु ।

युगौ युगसम्म पनि हाम्रो माया तन्किरहोस्
मुटुभरि मैले तिम्रै तस्वीर सजाउने गर्छ ।

अन्याय र अत्याचारले सीमा नागेपछि बिद्रोहको राको फुकिन्छ । आफूलाई बलिदानीमा होमिएर निरकुशताको जन्जिर तोडिन्छ । आफ्नो ज्यानको आहुती दिएर मुलुकलाई स्वतन्त्रताको झण्डा फराउने ती वीर शहीदप्रति सलाम । लोकतन्त्रमा नागरिकको मौलिक हकको प्रत्याभूति आम नागरिकले अनुभूत गर्ने वातावरण सृजना हुनु पर्दछ । मुलुक सञ्चालन गर्ने क्रममा व्यक्तिगत र दलगत स्वार्थ हावी हुँदा लोकतन्त्र नै संस्थागत हुन सक्दैन । राज्यको नियम कानुनलाई बलको भरमा लाद्ने काम हुन्छ । परिपञ्चको भुमरीमा निर्दोष मान्छे फसाएर राज्यप्रतिको विश्वास जनतामा घट्न जानु स्वाभाविकै हो । गलत परम्परालाई सच्याउनका लागि निरीह जनता शान्तिपूर्ण ढङ्गले विरोधमा उत्रनु पर्ने बाध्य तुल्याउँछ । जति दबाब दिए पनि राज्य पक्षले सकरात्मक सोचले बिरोधका आवाजलाई संवोधन गर्नको सट्टामा उल्टै बल प्रयोग गरी लाद्ने काम गरिन्छ भने देश र राष्ट्रियताप्रति आगाध आस्था राख्ने नागरिकको मन चिसिन सक्छ । सबै राष्ट्रप्रेमी नागरिकको चाहना भनेको मुलुकमा शान्ति कायम गरी स्वतन्त्र पूर्वक बाँच्नु पाउनु नै हो । त्यसैले सरस्वती शर्मा ‘जिज्ञासु’का आवाजलाई नै हेरौँ:

अन्याय र अत्याचारको विरोध गर्दागर्दै
लोकतन्त्र, शान्ति खातिर धाएको छ सानु ।

जनता र राष्ट्रियता मान्दै प्राण प्यारो
देशका लागि धेरै हण्डर खाएको छ सानु ।

…………….

धैर्यता र साहसलाई आत्मासत गरी
मिर्मिरेको घाम मैले चाहेको छ सानु ।

रङ्गिन स्वप्नहरू बुन्दै संसार जित्न ब्यस्तरत छन्– मनहरू । समाजमा होडबाजी चल्छन् एक–आपसमा । अर्काले गरेको प्रगति देख्न सक्दैनन् । आफूले कसरी प्रगति गर्नेतर्फ सकारात्मक सोचको विकास गर्नु पर्ने ठाउँमा अर्काको प्रगतिको इष्र्या, डाहा गरी खुट्टा तान्ने संस्कारले विकसित रूप लिएको हुन्छ । विचलन मनहरू व्यक्तिगत स्वार्थको ख्याल नगरी लागी पर्छन्–मान्छेहरू । झैँ-झगडा, हत्या, हिंसा, लुटपातजस्ता गतिविधिले प्रसय पाई समाज नै विकृतितर्फ घचेटिएको छ । समग्रमा दुनियाँ नै आडम्बरी सोचमा रूपान्तरण भएको आभास पाउँदछौँ । थोरै समयमा आर्थिक स्थिति उकास्नका लागि कानुनले बन्देज गरेको कार्यमा संलग्न भएका छन् । स्वार्थका लागि चाकडी र चप्लासु गर्न पछि पर्दैनन् । स्वार्थमा लिप्त भएका टाठाबाठाहरूको बोलबाल चल्दछ । चलाख मनहरू बीच स्वार्थका लागि होडबाजी चल्दछ । समाजमा इज्जतका साथ जीवन गुजाराका लागि धन अनिवार्य आवश्यकता बस्तु भएको छ । धन विनाको जीवन दुःखदायी हुन्छ नै । समाजमा निमुखा सोझा सिदा मान्छेहरू घुनजस्तै पिल्सिन्छन् । दुई छाक खाएर निर्धक्कसँग हासी खुशी जीवन बिताउन पनि गाह्रो भएको स्थिति छ । तसर्थ, समाजमा गरिव र धनीको दूरी विशाल छ:

बिकाउ ती मनहरू जाँच्न पनि गाह्रो भयो
निश्वार्थी भै दुनियाँमा बाँच्न पनि गाह्रो भयो ।

०००

खुट्टा तानातान गर्ने मानिसको कमी छैन
खुट्टा हुँदा रमाएर नाँच्न पनि गाह्रो भयो ।

०००

चाकडी र चप्लासीमा अडेको छ दुनियाँ नै
जिज्ञासुको स्वाभिमान साँच्न पनि गाह्रो भयो ।

सृष्टिको चक्रलाई नियाल्दा अनौठो र अत्यास लाग्दछ । ब्रम्हाण्डको एक अंश हो– पृथ्वी । ढुङ्गा, माटो र पानीबाट निर्मित भूगोलमा बसोबास गर्छन्– सजिव बस्तु । सीमित समय रहेको ती बस्तु अन्तत माटोमा बिलिन हुन्छन् वा धुँवा बनी बायूमण्डलमा । पृथ्वीमा रहेको सजिव वस्तुमध्ये मनुष्यको जीवनलाई अर्थपूर्ण रूपमा लिइन्छ । चेतना भएका कारणले गर्दाले नै मनुष्यले जीवनलाई सहज तुल्य गराउन सकेका छैन । विश्वको जुनसुकै कुनाकाप्चामा जन्मेका मान्छेको स्वभाव खासै भिन्नता हुँदैन । परिवार, समाज र देशको वातावरणले प्रत्यक्ष प्रभाव पार्दछ–मान्छेलाई । बिशेष गरेर मान्छेको जन्म भएपछि शिशु अबस्थाबाट मिल्ने संस्कारले प्रभाव पार्दछ । भनिन्छ बालबालिकाहरूको पहिलो पाठशाला उसको आमाको काख हुन्छ । त्यसपछि मात्र बाहिरी माहोलबाट उसले सिकाई उपलब्धि हासिल गर्दछ । घर मजबुद हुनका लागि जरा बलियो हुनुपर्दछ । तसर्थ, आमाको हात मै रहन्छ भबिष्य । नैतिक शिक्षा प्राप्त मान्छे परिपक्क भएपछि एक नागरिकको हैसियतले समाज र देशप्रति आफ्नो जिम्मेवारीको बोध जाग्नु स्वभाविकै हो भन्ने जस्ता भावका अभिव्यक्ति:

यस धर्तीमा जन्म लिई जान्ने गरायौ आमा
असल काम कर्तव्यले मान्ने गरायौ आमा ।

देशकै लागि लिप्त भएँ जीवन गरे अर्पण
काँधमा बाँकी देशलाई धान्ने गरायौ आमा ।

दृढ लक्ष्य, उच्च विचार मनको साहसले
हेर्दा इतिहास जिज्ञासु छान्ने गरायौ आमा ।

दुई आत्माबीच भावनात्मक सम्बन्ध स्थापित भएपछि जीवन जोडिन पुगी आत्मीयता गाँसिन्छ–निरन्तर । लोग्ने स्वास्नी अर्थात् प्रेमी प्रेमीकाबीच नाता सम्बन्ध गाढा हुन पुग्छ एक अर्काबिच गरने विश्वासले । यद्यपि, दुई आत्माबीच विश्वास टुट्न गएमा सिसा टुटेको अवस्था सृजना हुन जान्छ । जन्मदाको समयबाट मान्छेले सबै कुरा सिकेर आएको हुँदैन । कतिपय समयसँगै जुल्दै भीड्दै सिक्दै जाने अवस्था हुन्छ । मान्छेमा गल्ती हुन्छ नै । जानेर वा नजानेर । गल्तीलाई अत्मासात गरी भुल स्वीकार्नु नै महानता हो । लोग्ने र स्वास्नी प्रेमी प्रेमीकाबीच दैनिकी जीवन क्रममा धेरै नै उतार चढाव आउँछ । भनिन्छ लोग्ने र स्वास्नी बीचको झगडा परालको आगो । गुम्सेर राखेको पीडाले पिरोल्छ सधैं नै । पीडाबिमुख बनाउनका लागि सरसल्लाह अन्त्यत जरूरी पर्दछ– दुईबीच । विश्वासले गर्दा नै सम्बन्ध सुखद् रहन जान्छ । एकअर्काबीचको माया ममतामा भुलेर बाँचेको जीवन स्वर्गतुल्य रहन जान्छ । काम बिशेषले दुई आत्माबीच भौतिक रूपले टाढा रहनु पर्ने बाध्यता रहन सक्छ । एक्लो हुँदाको वखतमा आफ्नो मुटुजस्तो प्रिय मान्छेमा यादले भूत बनेर सताउँछ:

गल्ने छैन विश्वास यो आफु गल्दै गए पनि
तिम्रो निम्ति छरे किरण ज्यानै बल्दै गए पनि ।

………………

हृदय यो जाली रह्यो टुटिसक्यो फुटिसक्यो
व्यथा लुकाई हाँसेको छु मुटु गल्दै गए पनि ।

समग्रमा नेपाली साहित्य फाँटमा गजल लेखनमा लागेका नारी स्रष्टाहरू मध्ये स्थानीय र राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकामा पढिने नाम हुन सरस्वती शर्मा ‘जिज्ञासु’ । बिगत लामो समयदेखि पत्रकारिताको क्षेत्रमा कार्यरत उनी गण्डकी अञ्चल साहित्यिक पत्रिकाको पहिलो नारी सम्पादकका साथै पहिलो नारी गजल कृतिकारको रूपमा दरिन पुगेकी छिन् । साहित्य लेखनका अलावा समाज सेवाको क्षेत्रमा यिनको लगाव प्रंशसनीय छ । उनीद्वारा लिखित प्रस्तुत गजल नियम र भावले सशक्त रहको हुँदा परिपक्क देखिन्छ । उनको ‘हुस्सुभित्रको घाम’ गजल सङ्ग्रह पठनीय र सङ्ग्रहनीय छ ।

लेखक नुवाकोट साहित्यिक प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ  ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS