अस्थायी साधन महिलाको जिम्मा

sancharika samuha

संखुवासभा जिल्लाको केही गाउँका पुरुषलाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्य बिग्रने, देवता रिसाउने, पितृ खुसी नहुने र वंश नाश हुने भ्रम छ । त्यो काम पनि महिलाको थाप्लोमा ।

संखुवासभा । किमाथाङ्का– २ की २५ वर्षीया फञ्जुम शेर्पाले ०६६ मा निमाछिरिङ शेर्पासँग विवाह गरिन् । उनीहरूसँग अहिले पाँच वर्षकी छोरी पासाङल्हामु, तीन वर्षका छोरा तेन्जिङ, डेढ वर्षका छोरा दावा छन् । निरक्षर नै भए पनि उनले सन्तान पुगेको भन्दै श्रीमान्लाई बन्ध्याकरण गर्न अनुरोध गरिन् । तर, श्रीमान्ले मानेनन् । त्यसपछि उनले आफैँ अस्थायी साधन प्रयोग गर्न थालिन् ।

हिमालय प्राथमिक विद्यालय किमाथाङ्कामा कार्यालय सहयोगी पदमा कार्यरत फञ्जुमले आफ्ना श्रीमान् निमाछिरिङलाई पटकपटक अस्थायी साधन प्रयोग गर्न अनुरोध गरिन् । श्रीमान्ले उनको कुरा सुनेको नसुन्यै गरे । त्यसपछि २५ वर्षकै उमेरमा अस्थायी साधन प्रयोग गर्न थालेकी फञ्जुम अहिले शरीर मोटाउने र पेट दुख्ने समस्याले पीडित छिन् । उनी भन्छिन्, ‘अहिलेको जमानामा धेरै बच्चा जन्माउन सकिँदैन । श्रीमान्ले नमानेपछि आफैँले अस्थायी साधन प्रयोग गर्नुप¥यो ।’

अशिक्षित समाजमा गर्भान्तर र गर्भनिरोधको साधन प्रयोग गर्नेको सङ्ख्या नै न्यून छ । यस्तो जनसङ्ख्या धेरै रहेको भोटखोला क्षेत्रका किमाथाङ्का, हटिया, चेपुवा र पावाखोला गाविसका पुरुषले गर्भनिरोधक साधन प्रयोग नगर्दा महिला नै प्रयोग गर्न बाध्य छन् । साधन प्रयोग गर्दा शारीरिक रूपमा अशक्त र अस्वस्थ भइन्छ भन्ने सोचले पुरुषहरू नमान्ने र त्यसको मारमा महिला पर्ने गरेका छन् ।

गाउँघरमा पुरुषहरू हतपति अस्थायी साधन प्रयोग गर्न मान्दैनन् । त्यसैले सचेत महिला नभएका परिवारमा १२ जनासम्म सन्तान जन्मिएका छन् । किमाथाङ्का स्वास्थ्य चौकीका प्रमुख निमाछेदर शेर्पा अस्थायी साधन प्रयोग गर्ने पुरुषको सङ्ख्या शून्य नै रहेको बताउँछन् । निःशुल्क वितरण गरिने कण्डमसमेत पुरुषले प्रयोग नगर्ने उनको भनाइ छ । चेपुवा स्वास्थ्य चौकीका प्रमुख नोर्चे भोटे निःशुल्क भनेर राखिएको कण्डम चार वर्षदेखि जस्ताको तस्तै रहेको बताउँछन् । महिलामा भने अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको उनले बताए ।

पुरुषका लागि लक्षित अस्थायी साधन त्यत्तिकै खेर जान थालेपछि हटिया स्वास्थ्य चौकीका प्रमुख फुर्पु भोटेले गाउँका पुरुषलाई बोलाएर अस्थायी साधन प्रयोगका लागि जानकारी कार्यक्रमसमेत आयोजना गरे । उनले अस्थायी साधनको फाइदा बताउँदै पुरुषलाई प्रयोग गर्न प्रोत्साहन गरे । तर, कार्यक्रममा उपस्थित पुरुषहरूमध्ये कसैले आफ्नो देवता रिसाउने बताए, कसैले कुलपितृ रिसाउने दाबी गरे । अझ कतिपयले त वंश नाश हुने भनेर यसको प्रयोग गर्न मानेनन् । धार्मिक र परम्परागत कुसंस्कारका कारण अस्थायी साधन पुरुषले प्रयोग नगरेको भोटेले बताए ।

महिलाले भने गर्भान्तर र गर्भनिरोधकका लागि बाध्य भएर प्रयोग गर्ने गरेका छन् । महिलाले मात्र अस्थायी साधन प्रयोग गर्नुपर्ने भएकाले महिला स्वास्थ्यमा असर पर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले अस्थायी साधन प्रयोगबारे पुरुषमा चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने हटियाका शिक्षक लादर भोटे बताउँछन् । यता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले भने विगतदेखि नै अस्थायी र स्थायी गर्भ निरोधका उपाय । यसका सकारात्मक पक्षबारे कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘तर, के गर्नु पुरुषहरूले नमान्दा समस्या भइरहेको छ ।’

भोटखोला क्षेत्रमा आलु, मकै, उवा र कोदो मात्र उत्पादन हुन्छ । उत्पादित अन्नले तीन महिना मात्र खान पुग्छ । यस क्षेत्रका महिलाले बढी परिश्रम गर्नुपर्ने र अस्थायी साधनसमेत उनीहरूले नै प्रयोग गर्नुपर्ने बाध्यता भएपछि सानो उमेरमै गम्भीर स्वास्थ्य समस्या देखिने अरुणोदय उमाविका प्राचार्य छिरिङ भोटेको तर्क छ । उनी भन्छन्, ‘काम पनि महिलाले नै धेरै गर्नुपर्ने, औषधि पनि उनीहरूले नै प्रयोग गर्नुपर्ने, अनि खानेकुरा पनि राम्रो नपाउने भएपछि समस्या त देखिहाल्छ नि ।’

यस क्षेत्रका धेरैजसो परिवारले अहिले पनि अस्थायी साधन प्रयोग गर्दैनन् । प्रयोग गर्नेले पनि परिवारको सल्लाहबिना नै प्रयोग गरेको पाइएको छ । धेरै सन्तान जन्माएर पालनपोषणमा समस्या भएपछि घर व्यवहारको काम पनि आफैँले गर्नुपर्ने भएकाले महिला सचेत हुन थालेका छन् । यस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन भएकाले २५ वर्ष नबित्दै तीन–चार सन्तानको आमा हुनु सामान्य मानिन्छ ।

युवती आमाहरू साधन प्रयोग र परिवारको सङ्ख्या ठूलो हुनुहुन्न भन्नेमा सचेत रहेको हटिया गाविसका पूर्वअध्यक्ष वाङदावी भोटे बताउँछन् । भोटखोलाको विकासको बाधक भनेको परिवारको सङ्ख्या ठूलो हुनु पनि एक भएकाले तत्काल यसमा सरकारले विशेष प्रोत्साहनसहितको पहल गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘यस्तो कुरामा सरकारको पनि ध्यान जानुपर्छ । सरकारले नीति बनाओस् हामी सहयोग गर्छौं ।’

– सञ्चारिका फिचर सेवा


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS