खोटाङ

दुई गाउँका ३५ घरमा अर्थिङ

Chatyang

खोटाङ/चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ ।

हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो ।

हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा मावि नुनथलाका शिक्षक हेमविक्रम राईले बताउनुभयो । “चट्याङले हरेक वर्ष हाम्रो गाउँमा एक–दुईजनाको ज्यान लिने गरेको छ ।” उहाँले भन्नुभयो, “त्यो अनपेक्षित रुपमा हुने क्षति न्यूनीकरण गर्ने प्रयासस्वरुप हामीले प्रत्येक घरमा अर्थिङ गरेका हौँ ।”

वर्षा शुरु भएसँगै गाउँमा अर्थिङ गरिएका घरका बासिन्दा भयरहित वातावरणमा बस्न पाएका छन् । चट्याङका कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुँदै आए पनि जिल्लामा पहिलोपल्ट महुरे र खिल्कुमा सिंगो गाउँमा अर्थिङ गरिएको हो ।

सामुदायिक वनको रकमले अर्थिङका उपकरण खरिद गरेर ल्याएको र नून, कोइलालगायतका स्थानीय सामग्री भने घरधनीले नै व्यवस्था गरेको शिक्षक राईले बताउनुभयो ।

जिल्लामा हरेक वर्ष चट्याङका कारण भौतिक र मानवीय क्षति हुने गरेको छ । विज्ञका अनुसार चट्याङबाट बच्न अर्थिङ उत्तम उपाय हो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS